कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्य पोखरा-२१ मा घरदैलो र जनसंवादमा सक्रिय

पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्य पोखरा महानगरपालिका–२१ मा बस्ती–बस्ती पुग्दै मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सक्रिय रूपमा जुटेका छन् ।

चुनावी नारामा मात्र सीमित नहुने उद्देश्यसहित सञ्चालन गरिएको घरदैलो जनसंवाद अभियानमार्फत स्थानीय जनताको दैनिकी, समस्या र आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्ने प्रयास गरिएको छ । यस अभियानले पोखरा–२१ को चुनावी माहोललाई थप सक्रिय र उत्साहपूर्ण बनाएको छ ।

जनसंवादका क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, युवा पलायन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास, सहरी व्यवस्थापनलगायत विषयमा स्थानीय नागरिकले खुलेर आफ्ना गुनासा र सुझाव प्रस्तुत गरेका छन् । उम्मेदवार आचार्यले पोखरा–२१ को विकासलाई स्थानीय तहमा मात्र सीमित नराखी संसदमार्फत नीति निर्माण गर्दै दीर्घकालीन र योजनाबद्ध विकासको खाका अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

एमाले पोखरा–२१ का अध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक राजेन्द्र थापाका अनुसार, वडाभित्र रहेका ३७ वटा टोल विकास संस्थाअन्तर्गतका १ सय भन्दा बढी बस्तीमा पुगेर जनताको आवाज प्रत्यक्ष रूपमा सुन्ने अभियान आजबाट औपचारिक रूपमा सुरु गरिएको हो । उनले भने, “यो चुनाव भाषण र प्रचारको होइन, जनताको समस्या सुनेर समाधानको स्पष्ट खाका बनाउने चुनाव हो ।”

स्थानीयस्तरमा उठेका समस्यालाई व्यवस्थित रूपमा संकलन गरी प्राथमिकता निर्धारण गर्ने, ती विषयलाई संसदमा नीति तथा कार्यक्रममार्फत उठाउने र सरकारको माध्यमबाट कार्यान्वयन गराउने रणनीतिका साथ नेकपा (एमाले) चुनावी मैदानमा उत्रिएको थापाले स्पष्ट पारे ।

त्यस्तै उम्मेदवार आचार्यले विकास घोषणामा होइन, कार्यान्वयनमा देखिनुपर्ने उल्लेख गर्दै पोखरा–२१ लाई व्यवस्थित, योजनाबद्ध र दीर्घकालीन विकासको मार्गमा अघि बढाउन एमालेसँग स्पष्ट दृष्टि, अनुभव र दृढ प्रतिबद्धता रहेको बताए ।

कार्यक्रममा एमाले कास्कीका सचिवालय सदस्य एवम् कास्की क्षेत्र नं. २ का सचिव झपट रानाभाट, एमाले पोखरा महानगर अध्यक्ष जीवन आचार्यलगायत नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै एमालेको विकास दृष्टिकोण र प्रतिबद्धता प्रस्ट पारेका थिए ।