पोखरा । नेकपा (एमाले) कास्कीले सञ्चालन गरिरहेको ‘घर फर्क अभियान’ अन्तर्गत आज (सोमबार) नेकपा समाजवादी (एस) का करीब ३ सय जना नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन् ।
नेकपा (एमाले) कास्कीले आयोजना गरेको घर फर्क अभियान कार्यक्रममा समाजवादी (एस) परित्याग गर्दै उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका सचिव खगराज अधिकारीले विभिन्न समयमा अलग भएका साथीहरू पुनः मूलधारमा फर्किनु सकारात्मक संकेत भएको बताउँदै यसले संगठनलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
यता कार्यक्रममा बोल्दै प्रवेश गर्ने नेता, कार्यकर्ताहरूले समाजवादी आन्दोलनलाई कमजोर बनाउने विभाजनका कारणले आफूहरू पुनः एमालेमै फर्किएको बताएका छन् ।
एमाले कास्कीले ‘घर फर्क अभियान’लाई निरन्तरता दिँदै आगामी दिनमा थप नेता तथा कार्यकर्ता पार्टीमा फर्किने दाबी गरेको छ । पार्टीले एकता, अनुशासन र जनताको भरोसालाई आधार बनाउँदै संगठन विस्तारमा केन्द्रित रहने जनाएको छ ।