पोखरा । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२ भिमसेन टोल क्षेत्रमा हतियार लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका–२ अर्चलबोट बस्ने १८ वर्षीय राजकुमार रहेका छन्। उनीहरूलाई मिति २०८२ माघ १९ गते दिउँसो ३ बजेर ५५ मिनेटको समयमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले मिति २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा दुबै जना मिलेर प्रहरी कार्यालयबाट ५.५६ एमएमको इन्सास राइफल लुटी लगेको स्वीकार गरेका छन्। लुटिएको हतियार पोखरा महानगरपालिका–२ भिमसेन टोलस्थित इन्द्रबहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोमा लुकाई छिपाई राखिएको खुलेको थियो ।
उक्त सूचनाका आधारमा प्रहरी टोलीले सो स्थानमा खोजतलास गर्दा दाउराको बीचमा लुकाई छिपाई राखिएको अवस्थामा RIFLE 5.56 mm M3226 लेखिएको इन्सास राइफल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बरामद हतियारसहित दुवै जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।