हेड्स नेपाल गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा हरिप्रसाद भट्टराई

पोखरा । हेड्स नेपाल गण्डकी प्रदेशको चौथो अधिवेशन पोखरा महानगरपालिका–११ कार्की डाँडामा सम्पन्न भएको छ । अधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति अध्यक्षमा हरिप्रसाद भट्टराई चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद भण्डारी, उपाध्यक्षमा अर्जुनप्रसाद श्रेष्ठ, महासचिवमा तिलकप्रसाद तिवारी, सचिवमा माधवप्रसाद आचार्य तथा कोषाध्यक्षमा डोलप्रसाद लम्साल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा कृष्णप्रसाद सापकोटा, रामबहादुर बस्नेत, अमृतप्रसाद पोख्रेल, सुमनकुमार श्रेष्ठ, दुर्गा मर्सनी, भीमप्रसाद पौडेल, उज्ज्वल अधिकारी, सरस्वती अधिकारी भण्डारी र सुमन कतिला श्रेष्ठ चयन हुनुभएको छ । साथै, दुई जना सदस्य पछि मनोनित गर्ने गरी कार्यसमिति १७ सदस्यीय हुने जानकारी दिइएको छ ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा सामाजिक–प्राज्ञिक व्यक्तित्व दिपेन्द्रबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, हेड्स नेपालका पदाधिकारी, सदस्यहरू तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने प्रमुख अतिथि, अन्य अतिथि, सम्पूर्ण हेड्सकर्मी तथा पत्रकार मित्रहरूप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

हेड्स नेपाल विगत तीन दशकदेखि “दिलोज्यानले मानव समुदायको सेवा गरौं” भन्ने मूल भावका साथ सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहँदै आएको संस्थाले जनाएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपाल वि.सं. २०५० सालमा स्थापना भएर देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको छ।