पोखरा । पोखरा महानगरपालिकाले आज साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडीहरू सञ्चालनमा ल्याएको छ । महानगरले दीर्घकालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहर व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको जानकारी दिएको छ ।
महानगरका अनुसार केही दिनदेखि फोहर सङ्कलन हुन नसक्दा विभिन्न स्थानमा थुप्रिएको फोहर व्यवस्थापन गर्न प्रारम्भिक १/२ दिन बढी चाप पर्न सक्ने भएकाले नगरवासीलाई धैर्यतापूर्वक सहयोग गर्न आग्रह गरिएको छ । यस परिस्थितिमा सम्पूर्ण महानगरवासीलाई सहयोग गर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अपिल गरेका छन् ।
गाडी नआउँदासम्म सार्वजनिक सडक, पेटी तथा खुला स्थानमा फोहर नफाल्न विशेष अनुरोध गरिएको पोखरा महानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले बताए । बरालका अनुसार शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहर उठाइसक्ने लक्ष्य राखिएको छ ।
महानगरका अनुसार आउँदो आइतबारपछि सार्वजनिक स्थानमा जथाभावी फोहर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने चेतावनी दिइएको छ ।
साथै, सिसी क्यामेराबाट पहिचान भई सार्वजनिक स्थानमा फोहर फालेको पुष्टि भएमा न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ ।
साथै जरिवाना तिर्ने व्यक्तिको नाम राष्ट्रिय पत्रिका, महानगरको आधिकारिक पेज तथा वेबसाइटमा समेत सार्वजनिक गरिने महानगरले जनाएको छ ।
फोहर सङ्कलन गाडीको रुट तथा समयतालिका पुनः प्रकाशन गरिने जनाउँदै महानगरपालिकाले सम्पूर्ण नगरवासीसँग सहयोगको अपेक्षा गरेको छ ।