पोखरा । पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा जालमा अड्किएको अवस्थामा एसएलआर (SLR) राइफल र १८ राउण्ड गोली बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति बिहीबार साँझ करिब ५:०० बजे सोही स्थानका ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा हतियार फेला परेको जानकारी प्रहरीलाई दिएका थिए । सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनास्थलमा पुगेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार “MU 111 (बट) नम्बर बडी नं. १३८१०” लेखिएको SLR राइफल १ थान र सोही हतियारमा लोड गरिएको १८ राउण्ड गोलीसहितको म्यागजिन १ थान जालमा अड्किएको अवस्थामा फेला परेको हो ।
घटनाबारे प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको प्रहरीले जनाएको छ भने हतियार कसरी तालमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।