प्रस्याङ बगैँचा पार्कमा भोली महाशिवरात्री विशेष कार्यक्रम हुने

पोखरा । भोली फागुन ३ गते महाशिवरात्रिको अवसरमा पोखरा महानगरपालिका वडा नं. ५ स्थित प्रस्याङ बगैँचा पार्कमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिको आयोजना तथा शिवालय भजन समूहको सहयोगमा भोली फागुन ३ गते सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमअन्तर्गत सामूहिक व्रतबन्ध, भजन साझ, १०८ शिवलिङ्गमा दुग्ध, जल तथा बेलपत्र अर्पण, सामूहिक पूजा–पाठ, सांस्कृतिक तथा झाँकी कार्यक्रम, निशुल्क रक्त परीक्षणसहित स्वास्थ्य शिविर, महाशिवरात्री प्रसाद वितरण कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ ।

यसै अवसरमा वडा नं. ५ कार्यालयबाट प्राप्त हुने १२ लाख रुपैयाँको पहिलो चरणको सहयोगबाट सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणको शिलान्यास पनि सोही दिन गरिनेछ । पार्क परिसर बाहिर स्थानीय व्यवसाय प्रवर्द्धनका लागि केही व्यवसायिक स्टलहरू समेत राखिनेछन् ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले महाशिवरात्री पर्वले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई मजबुत बनाउने बताउँदै मन्दिर पुनर्निर्माण कार्य सबैको सहयोगबाट अघि बढाइने बताए । ‘महाशिवरात्रिको अवसरलाई धार्मिक कर्मसँगै सामाजिक उत्तरदायित्व जोड्ने प्रयास गरेका छौँ । मन्दिर पुनर्निर्माणले क्षेत्रको धार्मिक पहिचान अझ मजबुत बनाउनेछ,’ अध्यक्ष पराजुलीले भने ।

कार्यक्रमका प्रचारप्रसार संयोजक लक्ष्मण बरालले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथै सामूहिक व्रतबन्ध र भजन साँझ हुने जानकारी दिए । ‘धार्मिक, सांस्कृतिक र सामाजिक सेवालाई एउटै मञ्चमा जोड्ने प्रयास हो । सबैको सहभागिताले कार्यक्रम सफल हुने विश्वास लिएका छौँ,’ बरालले बताए ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा सरोकारवालालाई उपस्थित भई महाशिवरात्रि विशेष कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।