पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोग नेपालले राजनीतिक दल र उम्मेदवारहरूलाई भौतिक स्वरुपका निर्वाचन चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।
आयोगका अनुसार केही दल वा उम्मेदवारले धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक स्वरुपका चुनाव चिह्न बोकेर प्रचारप्रसार गर्दा जनसुरक्षा तथा समग्र शान्ति–व्यवस्थामा प्रतिकूल असर पर्ने गुनासाहरू प्राप्त भएका छन् । यस्तो कार्यले सुरक्षा जोखिम बढाउने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार निर्वाचन चिह्न निर्धारण गर्ने अधिकार आयोगमा निहित रहेको छ । त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३(१) मा दल र स्वतन्त्र उम्मेदवारलाई अनुसूची–३० र ३१ बमोजिम निर्वाचन चिह्न प्रदान गर्ने व्यवस्था छ। साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(ड) ले दलको झण्डा र चुनाव चिह्नको प्रयोगसम्बन्धी मापदण्ड तोकेको छ ।
आयोगले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी/प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार चुनाव चिह्न प्रयोग गर्न सकिने स्पष्ट पार्दै धातु, काठ वा अन्य कठोर सामग्रीबाट बनेका भौतिक चिह्न बोकेर प्रचार नगर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ ।
निर्देशन विपरीत कार्य गरेको पाइएमा आचारसंहिता उल्लंघन मानिने चेतावनी आयोगले दिएको छ ।
