कास्कीको रुपामा ८ कार्टुन स्याउको रक्सी ओसार्दै गर्दा प्रहरीको नियन्त्रणमा

पोखरा । कास्कीको रूपा गाउँपालिका ७ दाङसिङ मराङमा निर्वाचन आचारसंहिता विपरीत मदिरा ओसारपसार भइरहेको अवस्थामा सशस्त्र प्रहरीले ८ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ ।

पोखराबाट रूपातर्फ जाँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झार्दै गरेको अवस्थामा ‘कर्णाली स्याउ’ नामक मदिरा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत कालिका गण मालेपाटनबाट निर्वाचन सुरक्षाका लागि खटिएको सप्रनानि बसन्त ब. बुढाथोकी नेतृत्वको टोलीले मदिरा नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद मदिरा निर्वाचन सुरक्षाका लागि रामकोट मावि, रूपा–७ मा खटिएको नेपाल प्रहरी लाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन  नजिकिँदै गर्दा आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाइएको छ। निर्वाचन सुरक्षा निर्देशिका–२०८२ बमोजिम कानुन विपरीत कार्य गर्नेलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइने चेतावनीसमेत दिइएको छ ।

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लंघन नगर्न सर्वसाधारणसँग अनुरोध गरिएको छ ।