महावीर पुनलाई फुटपाथमा किताब नबेच्न पोखरा मेयरको आग्रह, ‘कानुनी समस्या आउन सक्छ’

पोखरा । प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा किताब बिक्री नगर्न धनराज आचार्यले आग्रह गरेका छन् । पोखरा महानगरपालिकाका मेयर आचार्यले सार्वजनिक ध्यानाकर्षण जारी गर्दै बिना दर्ता वा अनुमति सडकमा किताब बिक्री गर्दा कानुनी जटिलता आउन सक्ने बताएका हुन् ।

मेयर आचार्यले महावीर पुनले नवप्रवर्तन र अनुसन्धानका लागि देशभर घुमेर किताब बिक्री गर्दै जनसमर्थन जुटाइरहेको अभियान सराहनीय भएको उल्लेख गरेका छन् । तर सडकमा उभिएर किताब बिक्री गर्दा यातायातमा असहजता हुने र अनावश्यक विवाद सिर्जना हुन सक्ने भन्दै यस्तो कार्य नगर नियमसँग पनि जोडिने बताएका छन् ।

आचार्यले देशभर करिब १८ हजार पुस्तक व्यवसायी दर्ता भएर पुस्तक बिक्री–वितरण गरिरहेको उल्लेख गर्दै पुनलाई व्यवस्थित रूपमा बिक्री गर्न आग्रह गरेका छन् । उनले पोखरा आउँदा पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई किताब बिक्री गर्न सहयोग गर्न सकिने पनि बताएका छन् ।

मेयर आचार्यका अनुसार फुटपाथमा साना व्यवसायीलाई नगर प्रहरीले नियमअनुसार हट्न आग्रह गर्ने भएकाले सोही नियम सबैमा समान रूपमा लागू हुने बताए । साथै पुनले हालसम्म कति पुस्तक बिक्री भएको विवरण सार्वजनिक गरे पारदर्शिता बढ्ने र करसम्बन्धी प्रश्नको पनि सहज जवाफ दिन सकिने उनको भनाइ छ ।

मेयर आचार्यले पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि महानगरपालिका तयार रहेको बताएका छन् ।