जेनजी आन्दोलनका मुद्दा फिर्ता र बन्दी रिहाइको माग गर्दै रास्वपा कास्कीलाई ज्ञापनपत्र

पोखरा । जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्न तथा पक्राउ परेका आन्दोलनकारीहरूलाई बिना शर्त रिहा गर्न माग गर्दै आन्दोलन पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार बुझाइएको उक्त ज्ञापनपत्रमा जेनजी आन्दोलनका क्रममा विभिन्न आन्दोलनकारीमाथि दायर गरिएका मुद्दाहरू अझै कायम रहेको तथा केही आन्दोलनकारीहरू पुर्पक्षका लागि थुनामा रहेको उल्लेख गरिएको छ। लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिकलाई कानुनी झमेलामा पार्नु न्यायोचित नभएको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ मा रास्वपाले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेकोमा बधाई व्यक्त गर्दै नयाँ जनादेशले देशमा राजनीतिक परिवर्तन, सुशासन र जनअपेक्षाको सम्बोधन हुने विश्वास व्यक्त गरिएको छ ।

युवा सहभागिताबाट अघि बढेको जेनजी आन्दोलनले तत्कालीन सरकारको निर्णय र राजनीतिक दिशालाई चुनौती दिएको र देशलाई नयाँ अवसरतर्फ उन्मुख गराएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आन्दोलन पीडितहरूको तर्फबाट प्रस्तुत मागहरू यस्ता छन्:
१. जेनजी आन्दोलनका क्रममा दर्ता गरिएका सम्पूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरू तुरुन्त फिर्ता गरियोस् ।
२. पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीहरूलाई बिना शर्त तत्काल रिहा गरियोस् ।
३. आन्दोलनमा संलग्न नागरिकहरूलाई कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध वा कानुनी दबाब नपर्ने सुनिश्चित गरियोस् ।

ज्ञापनपत्रमा देशमा आएको नयाँ जनादेशले लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको रक्षा गर्ने विश्वास व्यक्त गर्दै रास्वपा तथा नयाँ सरकारबाट सकारात्मक पहल हुने अपेक्षा गरिएको छ । उक्त ज्ञापनपत्र आन्दोलन पीडितहरूको तर्फबाट राजन श्रेष्ठले तथा अभिभावकको तर्फबाट विवेक नाल्मीले हस्ताक्षर गरी बुझाएका हुन् ।