‘छोरीहरूलाई बाँच्न दे’ –इनिशा विकको न्याय माग्दै पोखरामा प्रदर्शन

राजु गिरी, पोखरा । देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै पोखरामा प्रदर्शन गरेका छन् ।

केही दिन अगाडि बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शन कुनै आयोजकले नगरी स्वस्फूर्तरुपमा भएको हो ।

प्रदर्शनमा सहभागीहरूले “छोरीहरूलाई बाँच्न दे, बलात्कारीलाई दण्ड दे”, “सरकार सुतिरहेको छ, छोरीहरू लुटिरहेका छन्”, “हत्यारा संरक्षण बन्द गर, कानुनी कटघरामा खडा गर” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै सहभागीहरूले महिलामाथि भइरहेको विभेद र हिंसाका घटनाहरू रोक्न सरकारसँग कडा कदम चाल्न माग समेत गरेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र सुरक्षा सुनिश्चित गर्न आग्रह गरे । पछिल्लो समय महिलामाथि हुने हिंसा, बलात्कार जस्ता घटनाहरू बढ्दै गएको र पीडितले न्याय पाउन छोडेकोले सरकारलाई दबाब स्वरुप विरोध प्रदर्शन गरिएको अभियन्ता सरस्वती पुरीले बताइन् ।

महिलामाथि बढ्दै गएको हिंसा र बलात्कारका घटनाविरुद्ध आवाज उठाउँदै नागरिकहरू सडकमा उत्रिन थालेका छन् । दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्ने मागसहित यस्तो विरोध प्रदर्शन गरिएको हो ।

१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग पोखरामा मात्र नभई देशैभर हुन थालेको छ । सुर्खेतमा बलात्कारको घटना घटिरहदा त्यस्ता घटना अन्य ठाउँमा पनि भइरहेको र पीडितको आवाज स्वरूप पोखरामा प्रदर्शन गरिएको अभियन्ता सुवानी पौडेलले बताइन् ।

पोखरामा भएको अहिलेको यो प्रदर्शन सांकेतिक मात्र भएको र न्याय नपाएमा अझ कडा आन्दोलन गरिने चेतावनी समेत दिन थालिएको छ । महिलामाथि हुने हिंसा र बलात्कारका घटनाहरू रोक्न सरकार गम्भीर बन्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित नागरिकहरूले यस्ता विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए । पीडितले न्याय पाउने वातावरण बनाउन राज्य जिम्मेवार बन्नुपर्ने उनीहरूको जोड छ ।