एमाले वडा कमिटी ५ द्वारा खुल्ला रक्तदान कार्यक्रम, कमिटीले गर्‍यो क्षयरोग पीडितलाई सहयोग

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा नम्बर ५ कमिटीद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम शनिबार (आज) सम्पन्न भएको छ । समाजमा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो ।

कार्यक्रमबाट कुल ४४ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ । वडा सदन हलमा सम्पन्न कार्यक्रममा स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दिलिप विक्रम शाही रहेका थिए भने विशेष अतिथिहरूमा धनबहादुर नेपाली र अञ्जु केसी रहेका थिए । त्यस्तै जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर क्षेत्री, पूर्व संघीय सांसद दामोदर पौडेल ‘बैरागी’, रेडक्रस जिल्ला उपसभापति रमा कोइराला, जिल्ला कमिटीका नेताहरू उज्वल खत्री, कल्पना भुवाजी र हरि सुनार, पोखरा वडा ५ का अध्यक्ष विष्णुप्रसाद बराल, सदस्य गोविन्द पराजुली तथा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले गरेका थिए भने सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दिलिप विक्रम शाही र अध्यक्ष लक्ष्मण बरालले मन्तव्य व्यक्त गर्दै रक्तदान जस्तो मानवीय कार्यमा सबैको सहभागिता आवश्यक रहेको बताएका थिए ।

यसै कार्यक्रममा पोखरा–५ निवासी क्षयरोगबाट पीडित मनोज सीकेको निधनपछि उनको दाहसंस्कारका लागि आर्थिक अभाव भएको अवस्थालाई मध्यनजर गर्दै पार्टी कमिटीको पहलमा रु १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मृतक सीकेको परिवारमा दुई जना नाबालक छोरा–छोरी रहेका छन् ।

कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानव सेवामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।