‘म सुध्रिन्छु’ भन्ने संकल्पबाटै ‘पार्टी सुध्रिन्छ’: लक्ष्मण बराल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा वडा कमिटी ५ का अध्यक्ष लक्ष्मण बरालले संगठन सुधार र नेतृत्व परिमार्जनका लागि कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आत्मसुधारको बाटो अपनाउन आह्वान गरेका छन् ।

बरालले आफू पनि सुध्रिने र नेतृत्वलाई सही मार्गमा लैजान पहल गर्ने जिम्मेवारी अब प्रत्येक कार्यकर्ता र समर्थकको काँधमा आएको उल्लेख गरेका छन् । उनका अनुसार यो केवल नारामा सीमित विषय नभई व्यवहारमा उतार्नुपर्ने गम्भीर दायित्व हो ।

उनले जनताको विश्वास, त्याग र संघर्षबाट राजनीतिक संगठन निर्माण हुने भएकाले हरेक सदस्यले आत्मआलोचना गर्दै आफ्ना कमजोरी सच्याउनुपर्ने बताएका छन् । अनुशासन पालन, जनतासँग नजिक हुने संस्कार विकास र जिम्मेवारी बोध संगठन सुदृढीकरणका आधार हुने उनको भनाइ छ ।

वडा कमिटी स्तरबाटै बलियो संगठन निर्माण हुने भन्दै बरालले कार्यशैली सुधार, पारदर्शिता अपनाउने र जनताको सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नेतृत्व सुधारका लागि केवल आलोचना नभई सही सुझाव, सकारात्मक दबाब र व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने उनको धारणा छ ।

“संगठन बलियो बनाउने शक्ति तलबाट सुरु हुन्छ,” उनले भनेका छन्, “यदि वडा, टोल र गाउँ स्तरमा कार्यकर्ता इमान्दार, सक्रिय र प्रतिबद्ध भए माथिल्लो तह स्वतः सुदृढ बन्नेछ।” उनले “म सुध्रिन्छु” भन्ने संकल्पबाटै “पार्टी सुध्रिन्छ” भन्ने विश्वास निर्माण हुने उल्लेख गरेका छन् ।

लक्ष्मण बराल

बरालले अहिलेको आवश्यकता गुटबन्दी होइन, एकता भएको स्पष्ट पार्दै व्यक्तिगत स्वार्थभन्दा सामूहिक लक्ष्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आरोप–प्रत्यारोपभन्दा समाधानमुखी सोच आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई अनुशासन र प्रतिबद्धताको उदाहरण प्रस्तुत गर्न आह्वान गरेका छन् ।

उनले नयाँ संकल्पका साथ अघि बढ्दै व्यक्तिगत आचरण सुधार, संगठन सुदृढीकरण र जनताको विश्वास जित्ने अभियानलाई थप मजबुत बनाउन सबैलाई आग्रह गरेका छन् ।