पोखरा । परिवर्तन नेपाल अभियान पोखराले समाजमा बढ्दै गएको हिंसा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई सम्बोधन गर्दै बुझाएको पत्रमा पछिल्लो समय समाजमा हिंसा, दुव्र्यवहार तथा विभिन्न आपराधिक गतिविधिहरू वृद्धि हुँदै गएको उल्लेख गरिएको छ। यसले सर्वसाधारण नागरिकको शान्ति, सुरक्षा र दैनिक जीवनमा नकारात्मक असर पारिरहेको अभियानकी अध्यक्ष सरस्वती पुरीको भनाई छ ।
पत्रमा यस्ता घटनालाई नियन्त्रण गर्न सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसकेको पनि उल्लेख गरिएको छ । विशेषगरी युवाहरूमा बढ्दो दुर्व्यसन, सामाजिक असन्तुलन तथा कमजोर सुरक्षा व्यवस्थाका कारण समस्या झन् जटिल बन्दै गएको अभियानको भनाइ छ ।
समस्याको समाधानका लागि अभियानले विभिन्न सुझावहरू प्रस्तुत गरेको छः
- महानगर क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै नियमित गस्ती तथा निगरानी बढाउने
- संवेदनशील स्थानहरूमा CCTV जडान गर्ने
- विद्यालय, कलेज तथा समुदायमा हिंसा न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- साइबर हिंसा तथा दुव्र्यवहार नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्ने
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकजस्ता जोखिममा रहेका समूहको सुरक्षाका लागि विशेष योजना ल्याउने
- समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउने
- दीर्घकालीन रूपमा सामाजिक सद्भाव कायम राख्ने कार्यक्रम सञ्चालन गर्ने
अभियानले सुरक्षित, शान्त र सभ्य समाज निर्माणका लागि सम्बन्धित निकायबाट सक्रिय र सकारात्मक पहल हुने अपेक्षा गरेको छ ।