३ करोड ८६ लाख लागतमा बन्यो पोखरा वडा १७ को कार्यालय भवन

पोखरा महानगरपालिका वडा नं.१७ को नवनिर्मित कार्यालय भवनको मङ्गलवार उद्घाटन गरिएको छ । सुविधा सम्पन्न नवनिर्मित कार्यालय भवनको नयाँ वर्ष २०८३ को अवसरमा नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
४ करोड ६५ लाख ८१ हजार ५०७ रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन ३ करोड ८६ लाख १६ हजार ८९२ रुपैयाँमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रा.लिले निर्माण गरेको हो । भवनको भुइतल्ला ३०९.४७ वर्ग मिटर, पहिलो तल्ला ३०९.४७ वर्ग मिटर, दोस्रो तल्ला ३०९.४७ वर्ग मिटर र तेस्रो तल्ला ५४.१७ वर्ग मिटर गरी जम्मा ९८२.५८ वर्ग मिटर क्षेत्रफलको रहेको छ ।
भवन निर्माण कार्य २०८० आषाढ २८ गते सुरु गरी २०८२ असोज १० गते सम्पन्न भएको थियो । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा आन्दोलनकारीहरूले उक्त भवनमा समेत आगजनी र तोडफोड गरेका थिए । भवनको पछि पुनः मर्मत सम्भार गरिएको हो । हालसम्म पोखरा महानगरपालिकाका ३१ वटा वडा कार्यालयहरू आफ्नै भवनबाट सञ्चालनमा रहेका छन् भने २ वटा भने निर्माणको क्रममा रहेका छन् ।
नगर प्रमुख आचार्यले सुविधा सम्पन्न भवनबाट सेवाग्राहीहरूलाई छिटो छरितो, चुस्त र जबाफदेही सेवा प्रवाहमा जोड दिनुभयो । नागरिकहरूलाई गुनासो रहित सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मन्जुदेवि गुरुङ, दलका नेता दिवसमान प्रधानाङ्ग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङ लगायतले महानगर तथा वडा कार्यालयहरूको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने बताउँदै सुविधायुक्त पूर्वाधारको नतिजा सेवामा देखिनु पर्ने बताउनुभएको छ ।
कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र सापकोटाले गर्नुभएको थियो ।