पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको नगर प्रमुख धनराज आचार्यले मङ्गलवार शुभारम्भ गर्नुभएको हो । महानगर यातायात प्रा.ली. काठमाडौँ, कृषि विकास बैङ्क र कामना सेवा विकास बैङ्कसँगको सहकार्यमा महानगरपालिकाले उक्त रुटमा सुविधा सम्पन्न विद्युतीय बसहरू सञ्चालनमा ल्याएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्ने हवाई यात्रुहरूलाई भरपर्दो विश्वसनीय र सरल रूपमा आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यियले साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । पाइलोटिङ्का रूपमा पहिलो चरणमा आषाढ मसान्त सम्मका लागि निःशुल्क सेवा शुभारम्भ गरिएकामा त्यसपछाडि भने यसको प्रभावकारिता अनुसार परिष्कृत रूपमा सेवा सुचारु गरिने उहाँले बताउनुभयो ।
तत्कालका लागि ती बसहरू रिर्चाजका लागि पर्यटन बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्थापन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार सेवा अवधि (समय) थपघट गर्न सकिने छ । भविष्यमा यसको सेवा क्षेत्र विस्तार गरी पोखराका मुख्य गन्तव्य स्थलसम्म विस्तार गर्ने योजना समेत रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
सटल बस सेवा शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दलका नेता दिवसमान प्रधानाङ्ग, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की, विमानस्थल कार्यालयका निमित्त प्रमुख जसोदा सुवेदी, महानगरपालिकाका वडा अध्यक्षहरू, भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई, महानगर यातायात प्रा लीका अध्यक्ष तथा पदाधिकारीहरू, पर्यटन व्यवसायीहरू लगायतको उपस्थिति रहेको थियो ।