जन्मदिनमा उदाहरणीय काम: सरस्वती पुरीको पहलमा विपन्न परिवारको घरमा नयाँ छाना

पोखरा । सामाजिक अभियन्ता तथा परिवर्तन नेपाल अभियानकी अध्यक्ष सरस्वती पुरी को जन्मदिनको अवसर पारेर पोखरा–१७ छोरेपाटन सिमलटुडाँमा एक विपन्न परिवारलाई राहतस्वरूप नयाँ जस्ता पाताको छाना उपलब्ध गराइएको छ । आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेको उक्त परिवारको घरमा वर्षा हुँदा पानी चुहिने तथा सुरक्षित रूपमा बस्न समेत समस्या हुने अवस्था रहेको थियो ।

परिवर्तन नेपाल अभियान, स्थानीय समाजसेवीहरू तथा आमा समूहको संयुक्त सहयोगमा पुरानो जीर्ण छाना हटाएर नयाँ टिन तथा जस्ता पाता राखी घरको छानो फेरिएको अभियानले जनाएको छ। स्थानीयवासीका अनुसार वर्षौंदेखि समस्यामा रहेको परिवारले अब सुरक्षित र सहज रूपमा बस्न पाउने भएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सरस्वती पुरीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजका पीडामा रहेका नागरिकको साथ दिने अवसरका रूपमा लिएको बताइन् । उनले भनिन्, “समाजमा अझै पनि आधारभूत आवश्यकता पूरा गर्न नसक्ने धेरै परिवार छन् । हामीले सानो सहयोग गर्दा कसैको जीवनमा ठूलो परिवर्तन आउन सक्छ । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा मानवताको सेवा गर्नु नै सबैभन्दा ठूलो खुशी हो ।”

पुरीले पछिल्लो समय परिवर्तन नेपाल अभियानले शिक्षा, स्वास्थ्य, विपन्न परिवार सहयोग, महिला सशक्तीकरण तथा सामाजिक सचेतनाका क्षेत्रमा निरन्तर काम गर्दै आएको पनि उल्लेख गरिन् । उनले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थानीयवासीहरूले पनि अभियानको कामको प्रशंसा गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने यस्ता गतिविधिले सहयोग र मानवीय भावनालाई बलियो बनाउने बताएका छन् । पछिल्लो समय परिवर्तन नेपाल अभियानले विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वका कामलाई तीव्रता दिँदै आएको छ ।