मनाइयो ६६ औं धौलागिरि हिमाल आरोहण दिवस

म्याग्दी।
म्याग्दीको धौलागिरि गाउँपालीका वडा नम्बर ४ मुदीमा
६६ औं धौलागिरि हिमाल आरोहण दिवस मनाइएको छ। ट्रेकिङ एजेन्सीसज् एसोसिएसन अफ नेपाल ९टान० गण्डकीको आयोजनामा बुधबार कार्यक्रम भएको हो।

मुदी४ का वडाध्यक्ष यामबहादुर घर्तीले मोटर बाटो विस्तार भएसँगै पदमार्ग विस्थापित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। उनले पदमार्गको संरक्षण र पुनः सञ्चालन आवश्यक रहेको बताउँदै यसले यहाँको पर्यटन क्षेत्र उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए। मोटर बाटो र पदयात्रा दुवैलाई सन्तुलित रूपमा विकास गर्नुपर्ने उनले औंल्याए। ‘मुदी–मुना क्षेत्रलाई ढोरपाटनसँग जोड्न सकियो भने धौलागिरि क्षेत्रको पर्यटन सञ्जाल अझ मजबुत बन्नेछ,’ उनले भने।

वन, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले मुदी र मुना गाउँ जोडेर पदमार्ग बिस्तार गर्न पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताइन्। पदमार्ग बिस्तार भयो भने पर्यटकको संख्यामा वृद्धि हुने साथै समग्र म्याग्दीको आर्थिक समृद्ध हुने उनले बताइन्।

धौलागिरि हिमालको काखमा अवस्थित यी गाउँहरु प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, परम्परागत जीवनशैली र स्थानीय खानाका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धौलागिरि क्षेत्रको पदमार्ग, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गरे।

पर्यटक स्थानीय संस्कृति, जीवनशैली र स्वादका लागि आउने भएकाले पर्यटन विकासका लागि स्थानीय संस्कृति र खानालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड उनले दिए।

कार्यक्रममा सगरमाथा आरोहण गरेका कृष्ण केसी, धम्पुस पिक आरोहण गरेका टाँसि गुरुङ र थोरङ पिक आरोहण गरेका दिलीप आचार्यलाई सम्मान गरिएको थियो।