पोखरा । राष्ट्रिय युवा संघ नेपाल कास्कीले आफ्नो ३७औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रममार्फत मनाएको छ। स्थापना दिवसको अवसर पारेर संघले मानवसेवा आश्रम पोखरा–२५ हेम्जामा सरसफाइ सामग्री वितरण गरेको हो।
जिल्ला कमिटी कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा आश्रमलाई रु. ४३ हजार ८३० बराबरका सरसफाइ सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा आश्रममा आश्रित अभिभावकहरूसँग भेटघाट गर्दै सम्मानसमेत व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मदन भण्डारी ले युवाहरू राजनीतिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले संगठनले स्थापना कालदेखि नै राष्ट्र, लोकतन्त्र र समाजसेवामा योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज शिवहरि सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य राजीव पहारी, एमाले कास्की अध्यक्ष बैनबहादुर क्षेत्री लगायतले युवाहरूको ऊर्जा समाज रूपान्तरण, सेवा र राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भरतमान गुरुङ, विष्णु पुन, एमाले कास्कीका उपाध्यक्ष भेषबहादुर बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य सरस्वती पुरी, पूर्व जिल्ला अध्यक्षहरू डिल्लीराम सुवेदी र बिमल बराल, अनेमसंघ नेतृ कमला केसी तथा नेशनल भोलिन्टियर फोर्सका प्रदेश सह–कमाण्डर मञ्जु जीसी कुँवरलगायतको उपस्थिति रहेको थियो।
जिल्ला कमिटी उपाध्यक्ष प्रविण सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपसचिव युवराज क्षेत्रीले गर्नुभएको थियो भने व्यवस्थापन कोषाध्यक्ष सुजन श्रेष्ठले गर्नुभएको थियो।
स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकालेर प्रत्यक्ष समाजसेवासँग जोडिएको यस अभियानले युवाहरूमा सामाजिक उत्तरदायित्व र सेवाभाव अझ बलियो बनाएको सहभागीहरूले बताएका छन्।