पोखरा । मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ ले मदन मार्गस्थित मदन स्मृति पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
वडा कमिटी-५ ले सामाजिक तथा जनमुखी कार्यलाई निरन्तरता दिँदै वातावरण संरक्षण र सार्वजनिक स्थलको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ ।
वडा कमिटी-५ का अध्यक्ष लक्ष्मण बरालका अनुसार कमिटीले नियमित पार्टी गतिविधिसँगै विपद् व्यवस्थापन, विपन्न वर्गलाई सहयोग, वातावरण संरक्षण तथा वडामा देखिएका विभिन्न सामाजिक समस्यामा सक्रिय रूपमा काम गर्दै आएको छ ।
गत महिना पनि वडा कमिटीले मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी कास्कीको रगत अभाव न्यूनीकरणका लागि रक्तदान कार्यक्रम आयोजना गरी ५३ युनिट रगत संकलन गरेको थियो ।
शनिबार आयोजित सरसफाइ कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य धनबहादुर नेपाली, जिल्ला कमिटी सदस्य तथा जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्री, गोबिन्द पराजुली, पूर्व जनप्रतिनिधि रामजी बराल, वरिष्ठ पत्रकार पुण्य पौडेल, जेष्ठ कम्युनिष्ट मञ्च जिल्ला अध्यक्ष पूर्ण गिरी, निर्वाचन क्षेत्र परिचालन कमिटी नं–३ का सदस्य कृष्णप्रसाद बराल, वडा कमिटीका सदस्यहरू तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।