युवाका निष्कर्षसहितको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशमा युवाहरूका आवाज, सुझाव र निष्कर्षलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यसहित आयोजित स्काउट पिस एण्ड सेक्युरिटी प्रोभेन्सियल लञ्चिङ इभेन्ट (Scout Peace and Security Provincial Launching Event) सम्पन्न भएको छ । नेपाल स्काउट अन्तर्गत प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशले फिनल्याण्ड नेपाल पार्टनरसिप प्रोजेक्ट (Finland Nepal Partnership Project) अन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११ स्थानमा युवा तथा विद्यार्थीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । लागुऔषध दुव्र्यसन, लैङ्गिक हिंसा, लैङ्गिक असमानता तथा जलवायु परिवर्तनजस्ता समसामयिक सामाजिक तथा वातावरणीय विषयमा युवाहरूका धारणा, सुझाव र निष्कर्ष संकलन गरी नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

छलफलबाट प्राप्त निष्कर्षसहितको प्रतिवेदन कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री रेखा गुरुङले समाजका चुनौती समाधान गर्न युवाहरूलाई केवल दर्शक नभई परिवर्तनका साझेदारका रूपमा अगाडि ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरूको छलफल र अन्तरक्रियाबाट आएका सुझावलाई प्रदेश सरकारले गम्भीरतापूर्वक ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, नेपाल स्काउटका निर्देशक अर्पण कार्की, सशस्त्र प्रहरी बल नेपाल २४ नं गणका सशस्त्र प्रहरी नायव उपरीक्षक तुलसीराम पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी, पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदास, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका खेलकुद शाखा प्रमुख टंकप्रसाद ढकाल लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।