पर्यटकको नयाँ आकर्षण, नवलपुरमा लुकेको स्वर्ग (भिडियो सहित)

पोखरा । गण्डकी प्रदेशमै यस्तो ठाउँ, जहाँ पुगेपछि तपाईंलाई लाग्नेछ सहरको भीडभाड, धुलो र तनावबाट टाढा कुनै शान्त स्वर्गमा आइपुगेको छु । हरियाली जंगलको काख, थारु संस्कृतिको मौलिक मिठास, अर्गानिक खानाको स्वाद र प्रकृतिसँगै रमाउने अद्भुत वातावरण । आज हामी पुगेका छौँ नवलपुरको कावासोतीस्थित चर्चित थारु गाउँ रिसोर्टमा, जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

नवलपुरको कावासोती बजारबाट करिब २० मिनेटको यात्रापछि पुगिन्छ थारु गाउँ रिसोर्ट । अमलटारी होमस्टे नजिकै अवस्थित यो रिसोर्ट प्रकृति, संस्कृति र आतिथ्यताको सुन्दर संगम हो । चार करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यो रिसोर्टका सञ्चालक हुन् फन्स महतो, जसले थारु समुदायको मौलिक पहिचानलाई आधुनिक सुविधासँग जोडेर नयाँ पर्यटकीय गन्तव्यको विकास गरेका छन् ।

रिसोर्टमा प्रवेश गर्नेबित्तिकै हरियाली वातावरणले जो-कसैको मन लोभ्याउँछ । परिसरभरि देखिने कलात्मक आकृतिहरू, थारु शैलीका संरचना र प्रकृतिसँग घुलमिल हुने डिजाइनले यहाँको सौन्दर्यलाई झनै आकर्षक बनाएको छ । विशेष कुरा त के छ भने, रिसोर्टमा देखिने धेरैजसो कलात्मक संरचना सञ्चालक स्वयंले आफ्नै कल्पना र मेहनतले निर्माण गरेका हुन् ।

थारु गाउँ रिसोर्टको अर्को प्रमुख विशेषता हो, अर्गानिक खाना । ताजा, प्राकृतिक स्वाद र थारु समुदायको मौलिक खानेकुराले यहाँ आउने पाहुनालाई फरक अनुभव दिलाउँछ । थारु गाउँ रिसोर्ट केवल बस्ने र खाने ठाउँ मात्र होइन, यहाँबाट थारु समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पनि पाइन्छ । परम्परागत खानादेखि आधुनिक परिकारसम्मको व्यवस्था भएकाले परिवार, साथीभाइ वा पर्यटक सबैका लागि यो उत्कृष्ट गन्तव्य बनेको छ ।