एमाले पोखरा-५ वडा कमिटीको पूर्ण बैठक सम्पन्न, निर्वाचन तयारीमा जुट्न निर्देशन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ को पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका प्रदेश, जिल्ला तथा महानगर तहका विभिन्न नेता तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकमा प्रदेश कमिटी सचिवालय सदस्यहरू धनबहादुर नेपाली, अन्जु केसी र कमला सुनार, जिल्ला कमिटी सदस्यहरू उज्वल खत्री र रमा कोइराला तथा महानगर कमिटी सदस्यहरू हरिमाया विश्वकर्मा, मणिराम बराल, गोमा सोती, प्रदीप सुवेदी, मिना मल्ल, तिलमाया सुवेदी भण्डारी र सन्तोष थापालगायत सहभागी भएका थिए ।

बैठकलाई सम्बोधन गर्दै वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले आगामी ६ महिनापछि हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले वडा कमिटीले सामाजिक तथा रचनात्मक गतिविधिमार्फत वडाबासीसँग प्रत्यक्ष सम्बन्ध विस्तार गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

अध्यक्ष बरालले सदस्यता नवीकरण अभियान–२०८३ सञ्चालन भइरहेको जानकारी दिँदै पार्टीको क्यूआर प्रणालीमार्फत वा कार्यालयमा उपस्थित भई सदस्यता नवीकरण गर्न अनुरोध गर्नुभयो। उहाँले संगठित सदस्यको संख्या भन्दा गुणस्तरीय सदस्य निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा जिल्ला सल्लाहकार परिषद् सदस्य कृष्णप्रसाद पराजुली, अनेमसंघ अध्यक्ष बिन्दु पौडेल, प्रदेश कमिटी सदस्य कमला सुनार र धनबहादुर नेपाली, जिल्ला कमिटी सदस्य उज्वल खत्री, पूर्व वडा कमिटी अध्यक्ष लक्ष्मण कोइराला तथा समन्वय कमिटी सदस्य कृष्णप्रसाद बराललगायतका वक्ताले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन अभियानात्मक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

जनप्रतिनिधिका तर्फबाट विष्णुप्रसाद बरालले २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा समावेश करिब ९० प्रतिशत कार्यक्रम तथा योजनाहरू सम्पन्न भइसकेको जानकारी दिनुभयो। बाँकी कार्यहरू पनि सम्पन्न हुने चरणमा रहेको उहाँको भनाइ थियो ।

बैठकमा सहभागी नेता, जनप्रतिनिधि तथा कार्यकर्ताहरूले संगठन सुदृढीकरण, सदस्यता विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी निर्वाचन केन्द्रित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

बैठकको सञ्चालन वडा कमिटीका उपसचिव माधव बास्तोलाले गर्नुभएको थियो ।