विश्व योग दिवसको अवसरमा बाल चित्रकला तथा योग प्रवचन सम्पन्न

पोखरा । विश्व योग दिवसको अवसरमा आयोजक नागरिक समिति पोखरा–५ को आयोजनामा प्रकृति तथा योग विषयक बाल चित्रकला प्रतियोगिता तथा योग प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ५ मा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने वा वडा नं. ५ स्थित विद्यालयमा अध्ययनरत १०७ जना विद्यार्थीहरू चित्रकला प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा विद्यार्थीहरूले प्रकृति संरक्षण, योग तथा स्वस्थ जीवनशैलीसँग सम्बन्धित विविध विषयवस्तु चित्रमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीका अभिभावक, वडावासी आमा–बुबा तथा दिदीबहिनीहरूलाई प्रमुख अतिथि स्वामी योगानन्दजीले योगको महत्वबारे प्रवचन दिनुका साथै योग अभ्याससमेत गराउनुभएको थियो । उहाँले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता प्रा.डा. सरोज कोइरालाले गर्नुभएको थियो भने चित्रकला प्रतियोगिताको निर्णायकको भूमिका वरिष्ठ चित्रकार रमेश श्रेष्ठ ले निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बसन्तराज गौतमले गर्नुभएको थियो ।

आयोजक समितिका लक्ष्मण बरालका अनुसार विश्व योग दिवसको अवसरमा बालबालिकामा सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै योगप्रति रुचि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सहभागी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थितिका बीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।