पोखरा । पोखरामा पर्यटन क्षेत्रको सरोकारवालाबीच पर्यटन क्षेत्रको योजना तथा नीति निर्माण बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहकार्य स्विस कन्ट्याक्ट परियोजना (दिगो) को सहयोग तथा युनाइटेड कम्युनिटी नेपालको आयोजनामा उक्त अभिभुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
डिगो परियोजना अन्तरगत पर्यटक प्रवाह (एसभीएफ) आधारित पोखरामा पर्यटन योजनाबारेमा छलफल भएको थियो ।
दिगोको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्लेषण र तथ्यांकमा आधारित रहेर पर्यटन क्षेत्रको विकासका लागि कस्तो योजना र नीति ल्याउने भन्नेमा महत्वपूर्ण भूमिका खेलेको सुनाए । प्रतिवेदन अनुसार पोखरा आउने पर्यटकमध्ये युरोपियन राष्ट्रका अन्नपूर्ण पदमार्ग जाने गरेका छन् । यस्तै एसियाका पर्यटकहरु घोरेपानी र अमेरिकाका पर्यटकहरु मुस्ताङ जाने गरेको तथ्यांक सार्वजानिक भएको छ । यस्तै पोखरा घुम्न आउने चिनियाँ पर्यटकका लागि डिजिटल पे (रकम तिर्ने) को आवश्यकता रहेको समेत उल्लेख छ ।
‘वास्तवमा हामीले पर्यटकले के खोज्यो भन्ने नसोची हाम्रो तरिकाले मात्रै सोच्दै आइरहेका रहेछौं । तर यो अध्ययनले देखाए अनुसार पर्यटक हामीले बनाएका योजना भनदापनि उनीहरुले चाहेको अनुसार नभएको भन्ने बुझियो’ उनले भने । यो प्रतिवेदनले धेरै कुरा सुधार गर्नुपर्ने कुराहरुलाई औल्याएको छ ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव कृष्ण लम्सालले अध्ययन निकै राम्रो भएको र यसलाई कार्यान्वयनतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले पर्यटकीय राजधानी पोखराको फेवातालका डुंगा चालकहरुलाई पर्यटकप्रति कस्तो व्यवहार गर्ने भनेर प्रशिक्षण दिन आवश्यक रहेको सुनाए । उनले मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारमा निकै फोहोर थुप्रिएको र त्यसलाई व्यवस्थापनतर्फ ध्यान दिन आवश्यक रहेको सुनाए ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख रविन कडरियाले अन्नपूर्ण पदमार्गलाई प्राकृतिक रुपमै राख्न आवश्यक रहेको सुनाए । पछिल्लो समय पर्यटकीय क्षेत्रहरु कंक्रिट क्षेत्र बन्दै जाँदा पर्यटक जान छाडेको सुनाउँदै एक्यापभित्रका पर्यटकीय क्षेत्रमा प्राकृतिक पूर्वाधार नै आवश्यकता रहेको औल्याए ।
स्विस कन्ट्याक्ट परियोजना (दिगो) का प्राइभेट सेक्टर म्यानेजर सागर चापागाईँले पर्यटकीय नगरि पोखराको आफुहरुले गहिरो र प्रतिनिधि रुपमा गरेको अध्ययन पश्चातको प्रतिवेदन सार्वजानिक गरिएको र यो विश्लेषणमा आधारित विधिबाट पर्यटन योजना र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको उदेश्य नै प्रतिवेदनमा कमी कम्जोरी देखिएको कुरालाई सुधार गर्ने र आगामी दिनमा पर्यटकले के चाहान्छन भन्ने विषयलाई प्राथमिकतामा राख्दै योजना बनाउन आवश्यकता रहेको सुनाए ।
कार्यक्रममा पर्यटन व्यवसायि, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
२०८३ श्रावण ५, मंगलवार