लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध पोखरामा दुईदिने सचेतनामूलक अभियान

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम शुक्रबारदेखि पोखरा महानगरपालिका–६, हल्लनचोकस्थित सामुदायिक सेवा केन्द्र बैदाम परिसरमा सुरु भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र घर्ती क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, कृष्ण दलगण फुलवारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रममा हास्यकलाकार युवराज भण्डारी, राजकुमार नेपाली तथा गायक शिवहरी ढुङ्गाना ले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सन्देशमूलक नाटक र लोकगीत प्रस्तुत गर्दै उपस्थितलाई सचेतना प्रदान गरेका थिए ।
आयोजकका अनुसार लागूऔषध दुरुपयोग न्यूनीकरण, ओसारपसार नियन्त्रण तथा समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।