पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको संयुक्त आयोजनामा तेस्रो अधिवेशन आगामी असार २७ गते शनिबार पोखरा–५ स्थित न्यू एरा पार्टी प्यालेसमा आयोजना हुने भएको छ ।
संयुक्तरुपमा आइतबार बसेको समितिको बैठकले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन बिहान ११:०० बजे सुरु हुनेछ । अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशका अध्यक्ष सूर्य गिरीले अधिवेशन संगठनको नेतृत्व हस्तान्तरण मात्र नभई दशनामी समुदायका युवालाई एकताबद्ध गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको बताए। उनले अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै प्रतिनिधि तथा समुदायका सदस्यलाई सहभागी हुन आग्रह गरे ।
त्यस्तै, कास्की जिल्ला अध्यक्ष सरस्वती पुरीले तेस्रो अधिवेशनले संगठनलाई अझ सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गर्दै जिल्लाभरका प्रतिनिधि तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताले अधिवेशन सफल हुने बताइन् ।
जिल्ला उपाध्यक्ष दिपक गिरीले दशनामी समुदायका युवाबीच आपसी एकता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले युवाहरूलाई अधिवेशनमा सहभागी भई संगठनलाई बलियो बनाउन आग्रह गरे ।
गण्डकी प्रदेश समितिका सचिव राजु गिरीले अधिवेशनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरू सक्रिय रूपमा परिचालित भएको बताए। उनले गण्डकी प्रदेश र कास्की जिल्लाका सम्पूर्ण दशनामी समुदाय, प्रतिनिधि तथा शुभेच्छुकलाई अधिवेशनमा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरे ।
अधिवेशनमा संगठनको भावी कार्ययोजना, संगठन विस्तार, युवाको भूमिका तथा समुदायको हितसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल गरिनुका साथै नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ ।