एक युवा, पाँच बिरुवा अभियानको शुभारम्भ कास्कीबाट, ११ वटै जिल्लामा विस्तार गरिनेछ
पोखरा । पोखरा महानगरपालिका–५, पर्स्याङस्थित शिवालय पार्कमा राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित “एक युवा, पाँच बिरुवा” अभियानको औपचारिक शुभारम्भ सम्पन्न भएको छ। एक महिने वृक्षारोपण अभियानअन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा फलफूल तथा धुपीसहित करिब ५० वटा बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले प्रदेशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश कमिटीका अध्यक्ष रोशन तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व इन्चार्ज क. राजिव पाहारी रहनुभएको थियो।
त्यसैगरी विशेष अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश इन्चार्ज क. अक्कल तामाङको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष, सचिव, युथ फोर्स गण्डकीका अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला इन्चार्ज, कास्की जिल्ला भूगोलका केन्द्रीय सदस्यहरू लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन नेकपा एमाले पोखरा महानगरपालिका–५ वडा कमिटीका अध्यक्ष तथा उहाँको सम्पूर्ण टिमले विशेष सहयोग गरेको आयोजकले जनाएको छ। साथै राष्ट्रिय युवा संघ नेपाल कास्कीका युवा नेताहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेशका सचिव किरण ढकालले गर्नुभएको थियो भने बिरूवा सौजन्य राष्ट्रिय युवा संघ नेपाल कास्कीका इन्चार्ज शिवहरि सुवेदीले गर्नुभएको थियो।
अभियानमार्फत प्रत्येक युवालाई कम्तीमा पाँच वटा बिरुवा रोप्न प्रेरित गर्दै वातावरण संरक्षणलाई जनआन्दोलनका रूपमा अघि बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।