पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपाय समेटिएको ८ बुँदे ध्यानाकर्षण पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) समक्ष बुझाएको छ ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको पर्वतीय तथा पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित, दिगो तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा पर्यटन नीति तथा कानुनमा सुधार गर्दै पर्वतारोहण र पदयात्रा पर्यटनका विषयलाई थप प्राथमिकता दिनुपर्ने, पदयात्रा मार्ग तथा हिमाली क्षेत्रको संरक्षणलाई प्रभावकारी बनाइनुपर्ने, सुरक्षित पर्यटनको प्रत्याभूति सुनिश्चित गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय छविमा असर पुर्याइरहेको ‘फेक रेस्क्यु’ जस्ता गतिविधिमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, जलविद्युत आयोजना, सडक विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माणका क्रममा पदमार्गमा पर्ने असर न्यूनीकरण गरी वैकल्पिक मार्गको व्यवस्था गर्नुपर्ने, पदयात्रा क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण भइरहेका हाईड्रोपावर आयोजनामा नियन्त्रण गर्दै टुरिजम इम्प्याक्ट एसेसमेन्ट (Tourism Impact Assessment) अनिवार्य गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
टान गण्डकीले अवैध पदयात्रा व्यवसाय नियन्त्रणका लागि ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (TIMS) लाई पूर्ण रूपमा कार्यान्वयन गर्न, इजाजतप्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्रै पदयात्रा सञ्चालन गराउन तथा अवैध ट्रेकिङ सञ्चालन गर्ने व्यक्ति वा संस्थामाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल पर्यटन बोर्डलाई आफ्नो मूल उद्देश्यअनुसार पर्यटन प्रवर्द्धनमा केन्द्रित र प्रभावकारी बनाउन संस्थागत सुधार गर्नुपर्ने, पदमार्ग संरक्षणसँगै नयाँ गन्तव्यको खोजी तथा विकासलाई प्राथमिकता दिनुपर्ने र डाँफे पदमार्गलगायत नयाँ पदयात्रा मार्गको विकास तथा प्रवर्द्धन गर्नुपर्ने विषय पनि समेटिएको छ ।
टान गण्डकीले नेपालको पदयात्रा पर्यटनलाई दीर्घकालीन रूपमा दिगो, सुरक्षित र व्यवस्थित बनाउन सरकार, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र आवश्यक नीतिगत सुधारको तत्काल पहल गर्न आग्रह गरेको छ ।