पोखरामा ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल २०२६’ हुँदै

पोखरा । पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद् को संयुक्त आयोजनामा ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल २०२६’ आगामी सेप्टेम्बर २५ देखि २७ सम्म पोखरामा आयोजना हुने भएको छ ।

दुवै संस्थाबीच फेस्टिभल आयोजना गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने औपचारिक घोषणा गरिएको हो। सहकार्यले पोखरालाई डिजिटल नोम्याड्स, उद्यमी, रिमोट वर्कर, सिर्जनशील व्यक्तित्व, नवप्रवर्तनकर्ता तथा पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय समुदायको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ ।

आयोजकका अनुसार सन् २०२५ मा पोखरामा सम्पन्न नेपालको पहिलो डिजिटल नोम्याड्स फेस्टिभलको सफलतापछि दोस्रो संस्करणका रूपमा ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल २०२६’ आयोजना गर्न लागिएको हो। पाँच दिनसम्म चलेको पहिलो संस्करणमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीले सहभागिता जनाएका थिए। कार्यक्रममा कम्पनी संस्थापक, उद्यमी, कन्टेन्ट क्रिएटर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा नवप्रवर्तनकर्ताबीच विचार आदान–प्रदान, सहकार्य र नेपालको पर्यटन सम्भावनाबारे छलफल भएको थियो ।

यस वर्ष पोखरा पर्यटन परिषद् आधिकारिक सह–आयोजकका रूपमा जोडिएसँगै फेस्टिभलले अन्तर्राष्ट्रिय पहुँच अझ विस्तार गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार पोखरालाई घुम्ने मात्र नभई बस्ने, रिमोट रूपमा काम गर्ने, व्यवसाय सुरु गर्ने तथा स्थानीय समुदायसँग सहकार्य गर्ने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।

तीनदिने फेस्टिभलको पहिलो दिन प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), स्टार्टअप, उद्यमशीलता, डिजिटल व्यवसाय, फ्रिलान्सिङ, ब्लकचेन, लगानी तथा भविष्यको कार्यशैलीका विषयमा केन्द्रित हुनेछ। स्वदेशी तथा विदेशी उद्यमी, डेभलपर, कन्टेन्ट क्रिएटर तथा नवप्रवर्तनकर्ताले आफ्ना अनुभव र विश्वव्यापी डिजिटल अर्थतन्त्रका अवसरबारे छलफल गर्नेछन् ।

दोस्रो दिन रिमोट कार्यशैली र लोकेसन–इन्डिपेन्डेन्ट जीवनशैलीलाई केन्द्रमा राखेर स्वास्थ्य, मानसिक सन्तुलन, कार्य–जीवन सन्तुलन, उत्पादकत्व, साहसिक गतिविधि, समुदाय निर्माण तथा नेपालले डिजिटल नोम्याड्सलाई प्रदान गर्न सक्ने जीवन अनुभवबारे विभिन्न सत्र सञ्चालन गरिनेछ ।

तेस्रो तथा अन्तिम दिन, विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रका अगुवा, सरकारी निकाय, होटल तथा आतिथ्य क्षेत्र, सिर्जनशील व्यक्तित्व र अन्तर्राष्ट्रिय सहभागीबीच दिगो पर्यटन, गन्तव्य ब्रान्डिङ, पर्यटन नवप्रवर्तन, लगानीका सम्भावना तथा नेपालको पर्यटनको भविष्यबारे छलफल हुनेछ। यसका साथै सांस्कृतिक प्रस्तुति, स्थानीय अनुभव आदान–प्रदान, नेटवर्किङ कार्यक्रम तथा समापन समारोह पनि आयोजना गरिनेछ ।

आयोजकले नेपाल तथा विदेशबाट उल्लेख्य संख्यामा सहभागी आकर्षित हुने अपेक्षा गर्दै यस फेस्टिभलले व्यवसायिक सहकार्य, लगानी, नेटवर्किङ, सांस्कृतिक आदान–प्रदान तथा नेपालको पर्यटन र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन साझेदारी विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

फेस्टिभलमा सहभागी हुने अन्तर्राष्ट्रिय वक्ता, रणनीतिक साझेदार तथा विस्तृत कार्यक्रम तालिका आगामी केही साताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।