पोखरा । जननेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको आयोजनामा धम्पुसस्थित डा. हर्कचन्द्र मिङ्मा स्मृति लालीगुराँस इको पार्कमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ‘जागरण अभियान माछापुच्छ्रे’का लागि केन्द्रीय प्रतिनिधि राजीव पहारी प्रमुख अतिथि तथा दलबहादुर गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पहारीले जननेता पुष्पलाल श्रेष्ठले रोप्नुभएको विचारको बीउ आज पनि नेपाली कम्युनिस्ट आन्दोलनमा हुर्किरहेको बताउनुभयो। उहाँले पुष्पलालको विचारलाई जनताको जीवनसँग जोड्दै विकास, समृद्धि, सामाजिक न्याय र वातावरण संरक्षणको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका कमिटी अध्यक्ष विक्रम गुरुङ, प्रमुख अतिथि राजीव पहारी, विशेष अतिथि दलबहादुर गुरुङलगायतका वक्ताहरूले जननेता पुष्पलाल श्रेष्ठको योगदान, नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक पृष्ठभूमि र वर्तमान सन्दर्भमा त्यसको औचित्यबारे चर्चा गर्नुभएको थियो ।
वृक्षारोपण कार्यक्रममा लालीगुराँस, अम्बा, कटुस, अमला, धुपीलगायत करिब ३० प्रजातिका १०० भन्दा बढी बिरुवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, महानगर तथा गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटीका सचिव ऋषि गौतमले गर्नुभएको थियो। उपाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रम व्यवस्थापन तथा नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका वडा कमिटी–७ का अध्यक्ष कृष्ण भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले ‘विचारमा पुष्पलाल, कर्ममा प्रकृति संरक्षण’ भन्ने भावनासहित वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।