पोखरा । अनेरास्ववियु कास्कीका निवर्तमान सचिव रवि क्षेत्रीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीसमक्ष अनेरास्ववियुको २४औँ जिल्ला अधिवेशनमा देखिएका प्रक्रियागत तथा संगठनात्मक विषयमा निष्पक्ष छानबिनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको छ ।
ध्यानाकर्षण पत्रमा अधिवेशनका क्रममा अध्यक्षमण्डलको औपचारिक निर्णय तथा सहमतिबिना जिल्ला कमिटी घोषणा गरिएको, अध्यक्षमण्डलका सबै सदस्यको सहमति नलिई परिणाम सार्वजनिक गरिएको र पदाधिकारी चयनमा संगठनात्मक मापदण्ड तथा स्थापित प्रक्रियाको पालना नभएको दाबी गरिएको छ ।
त्यस्तै, अध्यक्षमण्डलबाट भएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नगरिएको, प्रतिकूल परिस्थितिमा संगठनबाट अलग भएको घोषणा गरेका व्यक्तिलाई आवश्यक राजनीतिक समीक्षा र संगठनात्मक प्रक्रियाबिना नेतृत्वको जिम्मेवारी दिइएको विषयमा समेत प्रश्न उठाइएको छ ।
ध्यानाकर्षण पत्रमा अधिवेशनको बन्दसत्र सञ्चालन, प्रतिनिधि व्यवस्थापन, गणपूरक संख्या तथा अन्तिम निर्णय प्रक्रियासम्बन्धी विषयमा समेत गम्भीर प्रश्न उठाइएको उल्लेख छ ।
पत्रमार्फत सम्बन्धित सबै पक्षसँग आवश्यक स्पष्टीकरण लिई अधिवेशनका सम्पूर्ण प्रक्रिया, प्रतिनिधि व्यवस्थापन तथा निर्णयहरूको निष्पक्ष समीक्षा गर्न माग गरिएको छ । साथै, प्रक्रियागत त्रुटि पुष्टि भए संगठनको विधि, विधान, पारदर्शिता र संस्थागत मर्यादाअनुसार आवश्यक निर्णय लिन तथा जिल्ला कमिटी पुनर्गठन गर्नसमेत आग्रह गरिएको छ ।