पोखराको सेती थुनियो, आसपासका बस्ती उच्च जोखिममा (भिडियो सहित)

राजु गिरी, पोखरा । केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेका छन् । सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको चर्चा गरिन्छ, तर सेतिले निम्त्याएको जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन ।

https://youtu.be/6GtYZGEEZRY

पोखरा रामघाटमा फराकिलो रहेको सेती नदीको निकास सानो हुँदा पानी जान नसकेर विशाल ताल नै बनेको छ । सेती नदी थुनिएर ताल बन्दा अहिलेसम्म क्षति त भएको छैन तर संभावित क्षतिको जोखिम भने निकै बढेको छ । दाह संस्कारका लागि बनाइएका घाटहरु पुरै जलमग्न बनेका छन् । सेती किनारसँगै दुई दर्जन बढी सुकुम्बासी बस्ती छ, बर्खा लागे पछि कतिबेला बाढीले बगाउने हो भनेर जाग्राम बस्नु पर्ने अवस्था छ । अहिले ३ वर्ष यताकै ठूलो र डरलाग्दो तरिकाले सेती बढेको स्थानीय बताउँछन् ।

सेती नदी पोखराको अधिकांस भागमा भूमिगत भएर बगेको छ । पछिल्लो समय झनझन गहिरिदै गएको सेती खोंच र निरन्तरको बर्षाका कारण कतिबेला ठूलो दुर्घटना निम्तिन सक्ने चिन्ता विज्ञहरुको छ ।