नेपाली फर्निचरलाई ब्रान्ड बनाउने प्रयासमा ‘ला कासा’

पोखरा ।
घर सजाउँदा अहिले फर्निचर आवश्यक सामग्रीमा सीमित छैन । घरको डिजाइन, व्यक्तित्व र जीवनशैलीसँग मेल खाने फर्निचर रोज्ने क्रम बढ्दै गएको छ । यही बदलिँदो रुचिलाई लक्षित गर्दै नेपालमा पनि आधुनिक डिजाइन र स्थानीय उत्पादनलाई जोडेर फर्निचर तथा होम डेकोरको व्यवसाय गर्ने क्रम बढेको छ ।

यही क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेको ब्रान्ड हो, ‘ला कासा’ कम्पनीले आफूलाई नेपालकै प्रिमियम फर्निसिङ ब्रान्डका रूपमा प्रस्तुत गर्दै नेपाली सीप र स्थानीय उत्पादनलाई आधुनिक डिजाइनसँग जोड्ने उद्देश्य राखेको जनाएको छ ।

‘ला कासा’मा सोफा, डाइनिङ टेबल, बेड, वार्डरोब, कफी टेबल, कुशनलगायत घर तथा कार्यालयमा प्रयोग हुने विभिन्न फर्निचर तथा डेकोर सामग्री उपलब्ध छन् । कम्पनीका सञ्चालक उमर अब्दुल्लाका अनुसार विशेषगरी सोफा नेपालमै उत्पादन गरिन्छ । विभिन्न डिजाइनका सोफामा ग्राहकको आवश्यकता अनुसार आकार, कपडा, रङ तथा डिजाइनमा समेत अनुकूलन गर्ने सुविधा रहेको उनले जानकारी दिए ।

स्थानीय कारीगरको सीप र आधुनिक डिजाइनलाई जोडेर स्वदेशमै उत्पादन गर्न सकिए नेपाली फर्निचर उद्योगलाई थप बलियो बनाउन सकिने उनको धारणा छ ।

‘ला कासा’ले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्य राखेको उनले बताए । स्थानीय कारीगरको सीपलाई प्रोत्साहन गर्दै गुणस्तरीय नेपाली उत्पादन निर्माण गर्नु आफ्नो उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले काठमाडौंको सुबिधानगर, तीनकुनेमा मुख्य शोरुम सञ्चालन गर्दै आएको छ भने पोखरामा मालेपाटनमा शोरुम सञ्चालनमा रहेको छ ।