विपदमा एमाले: वडा कमिटी ५ ले तीज कार्यक्रम रोकेर राहत कोषमा रकम जम्मा गर्ने

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट उत्पन्न संकटलाई मध्यनजर गर्दै तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

वडा कमिटी–५ ले आकस्मिक बैठक आह्वान गरी वडा कमिटीको आयोजनामा हुन लागेको तीज विशेष कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । बैठकले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ ।

कमिटीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न तथा आवश्यक राहतका लागि तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ। साथै, तीज विशेष कार्यक्रमका लागि संकलन गरिएको रकम सरकारको आह्वानअनुसार विपद् राहत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको छ।

वडा कमिटीले विपद्को कठिन समयमा सबै राजनीतिक दल, संघ–संस्था, सामाजिक अभियन्ता तथा आम नागरिकलाई एकजुट भई पीडितको उद्धार र राहतमा हातेमालो गर्न अपिल गरेको छ ।

“विपद्मा राजनीति होइन, मानवियता र सहयोग पहिलो प्राथमिकता हो,” वडा कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गर्दै पीडितको साथमा सबै जुट्न आग्रह गरिएको छ ।

वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरिएको हो ।