पोखराको पौडेल समुहले प्रधानमन्त्री कोषमा ४१ लाखभन्दा बढी सहयोग

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. ४१,११,१११ (एकचालिस लाख एघार हजार एक सय एघार) सहयोग रकम जम्मा गर्ने निर्णय गरिएको छ। हालैको प्राकृतिक विपत्तिले देशलाई अत्यन्त दुःखद अवस्थामा पुर्‍याएको भन्दै यस कठिन घडीमा मानवीय सहयोगको हात बढाइएको हो।

पौडेल समुह द्वारा संचालित अटोवेज प्रा.लि. परिवार र बुल मेसीन प्राली बाट रु. २५,००,०००, पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका शिक्षक-कर्मचारीहरूको तर्फबाट रु. ११,११,१११ र गोविन्द-कलावती फाउन्डेसनबाट रु. ५,००,००० सहयोग प्रदान गरिएको हो । मंगलबार व्यवसायी नारायण पौडेलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर यो रकम सरकारलाई हस्तान्तरण गरेका हुन् । पौडेल समुहले विज्ञप्ति जारी गर्दै यस विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको उपचार तथा विस्थापितहरूको सुरक्षित पुनस्थापनाको कामना गरिएको छ।

संकटको यस घडीमा पीडित नागरिकलाई साथ दिनु सबैको मानवीय दायित्व र सामाजिक जिम्मेवारी भएको भन्दै सबै मिलेर पिडाको सामना गरी अगाडी बढ्नु पर्ने व्यवसायी पौडेलले सबैसामु आग्रह गरे । देश दुखेको बेला निजी क्षेत्र, संघसंस्था र आम नागरिक सबै एकजुट भई हातेमालो गर्नुपर्ने आवश्यकता रहेको व्यवसायी नारायण पौडेलले बताए ।