पोखरा । नेपालको रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकालागि दीर्घकालीन काम गर्न नेपालको बतास फाउन्डेसन र भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन विच सम्झौता भएको छ ।
यस सहकार्यले तत्काल राहत र उद्धारभन्दा रहेका अभिभावक गुमाएका र अत्यन्तै कमजोर आर्थिक तथा सामाजिक अवस्थामा पुगेका बालबालिकाको शिक्षा, आत्मनिर्भता र भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
प्राकृतिक प्रकोपपछि उद्धार, खाना, लत्ताकपडा, औषधि र अस्थायी बासजस्ता तत्कालका आवश्यकताहरू अत्यन्तै महत्वपूर्ण भएको भन्दै बालबालिकाको शिक्षामा बाधा पुग्ने दीर्घकालीन चुनौतीहरू हटाएर दुबै फाउन्डेसनले एक भएर काम गर्ने बताइएको छ ।
सम्झौता अनुसार पहिलो चरणमा १०० भन्दा बढी बालबालिकाका लागि दीर्घकालीन शैक्षिक सहयोग गर्दै उच्च शिक्षाका लागि समेत आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
यो सहायताले बालबालिकाको शैक्षिक यात्रालाई निरन्तरता दिन आवश्यक आधार तयार पार्ने र उनीहरूले विपद्ले सिर्जना गरेको परिस्थितिका कारण आफ्नो शिक्षा र भविष्यमा सम्झौता गर्नु नपर्ने बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासको भनाइ छ । अध्यक्ष बतासका अनुसा यो कार्यक्रम केवल छात्रवृत्ति प्रदान गर्नुभन्दा पनि प्रकोपबाट प्रभावित बालबालिकामा आत्मविश्वास, अवसर र भविष्यप्रतिको आशा पुनर्बहाल गर्नको लागि एक दीर्घकालीन मानवीय लगानीको रूपमा अघि सारिएको हो ।
भारतको ग्रामीण बंगालबाट आफ्नो यात्रा सुरु गर्नुभएका डा. भौमिकले विज्ञान र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय योगदान पुर्याउनुभएको छ। एक्साइमर लेजर प्रविधिमा उहाँको अग्रगामी अनुसन्धानले आधुनिक लासिक आँखाको शल्यक्रियाका लागि एक महत्वपूर्ण आधार तयार पारेको थियो। वैज्ञानिक उपलब्धीलाई मानव कल्याणसँग जोड्ने उहाँको दृष्टिले फाउन्डेसनका सामाजिक कार्यक्रमहरूलाई मार्गदर्शन गरिरहेको छ। शिक्षा, वैज्ञानिक सोच, डिजिटल साक्षरता, स्वास्थ्य सेवा, सीप विकास, र प्रकोप प्रतिकार्य यसका प्राथमिक कार्यक्षेत्रहरू हुन्।
त्यस्तै नेपालको बतास फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, छात्रवृत्ति, विपद् राहत, र समुदाय सशक्तिकरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। फाउन्डेसनको प्रमुख प्राथमिकतामा सीमान्तकृत र जोखिममा परेका समुदायहरूसम्म प्रत्यक्ष पहुँच सुनिश्चित गर्नु, आवश्यकता अनुसार तत्काल र दीर्घकालीन सहयोग उपलब्ध गराउनु रहेको अध्यक्ष बतास बताउनुहुन्छ ।
हाल बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित समुदायहरूमा, बतास फाउन्डेसनले राहत, पुनस्र्थापना, र दीर्घकालीन सहयोगका आवश्यकताहरू पहिचान गर्न विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ।