विपद् प्रभावितका लागि एमाले पोखरा–५ द्वारा एक लाख एक हजार सहयोग

पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले विपद् प्रभावितका लागि रु. १ लाख १ हजार १ सय ११ सहयोग हस्तान्तरण गरेको छ । पार्टी केन्द्रको आह्वानअनुसार वडा कमिटीले संकलन गरेको उक्त रकम एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।

वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालका अनुसार राष्ट्रिय विपद्का कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको हो। कमिटीले विपद्का बेला नियमित सांगठनिक कार्यबाहेक अन्य कार्यक्रम नगर्ने निर्णयसमेत गरेको छ। वार्षिक क्यालेन्डरमा समावेश तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि संकलित रकम पनि विपद् राहत कोषमा थपिएको बरालले जानकारी दिए ।

विपद्का कारण वडा कमिटीका उपसचिवसमेत रहेका माधव बास्तोलाकी छोरी श्रृष्टि बास्तोला हालसम्म बेपत्ता रहेको तथा पार्टीका संगठित सदस्य टेकराज तिमिल्सिनाका ज्वाइँ अभिषेक तिमिल्सिनाको परिवार पनि विपद्को पीडामा रहेको बरालले बताए । “शोकको यस घडीमा सबै सहयोगी मनहरूले थोपा–थोपा सहयोग जुटाएर घैँला भरेझैँ संकलन गरेको यो रकमले विपद् प्रभावित परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास लिएका छौँ,” उनले भने ।

रकम हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य राजीव पहारी, प्रदेश कमिटी सदस्य धनबहादुर नेपाली, कास्की जिल्ला कमिटी अध्यक्ष अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, अनेमसंघ प्रदेश कोषाध्यक्ष कृष्णकुमारी गुरुङ, वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बराललगायत नेता तथा जनप्रतिनिधिको उपस्थिति थियो ।

उपस्थित नेताहरूले विपद्का बेला वडा कमिटी–५ ले देखाएको मानवीय सहयोग, राहत तथा उद्धारप्रतिको सक्रियताको प्रशंसा गरे । उनीहरूले विपद् प्रभावितको सहयोगमा वडा कमिटीले मानवीय सेवाको उदाहरणीय भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे ।