पोखरा । रसुवा, भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रकाश दिप गैरे र सुशीला कट्टेल गैरेले रु. १० लाख १ हजार १ सय मानवीय सहायता प्रदान गरेका छन् । ईश्वरीय मार्ग भजन मण्डल, सच्चाई केन्द्र नेपालका प्रमुख एवं आकाङ्क्षा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि.का प्रबन्ध निर्देशक गैरे र सच्चाई केन्द्र नेपालकी वरिष्ठ उपप्रमुख कट्टेल गैरेले व्यक्तिगत, व्यावसायिक तथा पारिवारिक तर्फबाट उक्त रकम सहयोग गरेका हुन् ।
देशका विभिन्न भू–भागमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता बढेको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै गैरे परिवारले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ । उनीहरूले बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति दुःख व्यक्त गर्दै कठिन अवस्थामा मानवीय सहयोग आवश्यक रहेको बताएका छन् ।
सहयोगकर्ताहरूले विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताएका छन्। उनीहरूका अनुसार विपद्का बेला गरिने सहयोग आर्थिक रूपमा मात्र सीमित नभई करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो ।
बाढीपीडितको राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला गैरे दम्पतीको सहयोगलाई मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ । उनीहरूले विपद्को कठिन घडीमा पीडितको साथमा उभिन र सामाजिक तथा मानवीय सेवामा सहकार्य गर्न आग्रह गरेका छन् ।