एसटी स्नुकर टुर्नामेन्टको फाइनलमा धर्मेन्द्र र गौतम मंगलबार भिड्ने

पोखरा । पहिलो एसटी स्नुकर टुर्नामेन्टको उपाधिका लागि धर्मेन्द्र घर्ती र एम बहादुर गौतम (गौतम साइकल) भिड्ने भएका छन् । विभिन्न चरण पार गर्दै दुवै खेलाडी फाइनलमा प्रवेश गरेपछि प्रतियोगिताको उपाधि भिडन्त तय भएको हो । फाइनल खेल बेस्ट अफ सेभेनको आधारमा पोखराको बगाले टोल स्थित एसटी स्नुकर हाउसमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पोल ए, बी, सी र डी गरी चार समूहमा विभाजन गरेर कुल ४० खेलाडीलाई सहभागी गराइएको थियो । सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धर्मेन्द्र र गौतमले फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको सुरुवात स्नुकर खेलको विकास तथा स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन सन्तोष रानाले गरेका हुन् ।

प्रतियोगिता सुरु गर्दै सञ्चालक रानाले युवा माझ स्नुकर खेलप्रतिको आकर्षण बढ्दै गएको बताउँदै नयाँ खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार पहिलो संस्करणबाट प्राप्त अनुभव र खेलाडी तथा दर्शकको उत्साहलाई आधार बनाएर आगामी संस्करणलाई अझ व्यवस्थित र ठूलो स्तरमा सञ्चालन गर्ने तयारी छ ।

रानाले प्रतियोगिता सफल बनाउन खेलाडी, दर्शक तथा शुभेच्छुकबाट प्राप्त सहयोगले आगामी दिनमा थप प्रतियोगिता आयोजना गर्न हौसला मिलेको बताए । अब धर्मेन्द्र र गौतमबीच हुने फाइनल खेलले पहिलो एसटी स्नुकर टुर्नामेन्टको विजेता तय गर्नेछ । विजेताले १० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन् भने उपविजेताले ५ हजार रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।