पोखरा । कास्की लोकदोहोरी व्यावसायिक समितिको प्रथम अधिवेशन असोज ९ गते पोखरामा हुने भएको छ । लोकदोहोरी तथा लोकसंगीत क्षेत्रमा आबद्ध व्यवसायीको साझा संस्था निर्माण गरी व्यवसायीको हकहित, व्यावसायिक अधिकार, पेसागत मर्यादा तथा लोकसंगीत क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले समिति गठन गरिएको तदर्थ समितिले जनाएको छ ।
समितिका अनुसार २०८३ साउन १५ गते होमबहादुर गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो। हाल समितिमा १८ वटा दोहोरी साँझ आबद्ध रहेको र ती दोहोरी साँझबाट करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएको विज्ञप्तिमा उल्लेख छ । कास्कीका विभिन्न स्थानमा सञ्चालित लोकदोहोरी व्यवसायी तथा सम्बन्धित व्यावसायिक संस्थालाई एउटै छातामुनि ल्याई आपसी सहकार्य, समन्वय र व्यावसायिक एकता कायम गर्ने समितिको उद्देश्य रहेको जनाइएको छ ।
तदर्थ समितिका अध्यक्ष होमबहादुर गुरुङले व्यवसायीका जायज मागको सुनुवाइ नभएपछि नयाँ ढङ्गले दोहोरी व्यवसाय सञ्चालन गर्ने उद्देश्यले समिति गठन गरिएको बताए । उनका अनुसार लोकदोहोरी व्यवसायलाई समयअनुकूल व्यवस्थित गर्दै व्यवसायी, कलाकार र यस क्षेत्रमा आबद्ध पक्षबीच समन्वय आवश्यक छ ।
“नयाँ ढङ्गले दोहोरी व्यवसाय चलाउनुपर्छ भन्ने उद्देश्यले समिति गठन गरेका हौं,” गुरुङले भने । सरकारले लोकदोहोरी व्यवसायलाई बिहान ४–५ बजेसम्म सञ्चालन गर्न अनुमति दिए हालको भन्दा दोब्बर रोजगारी सिर्जना गर्न सकिने उनको दाबी छ ।
त्यस्तै तदर्थ समितिका उपाध्यक्ष नौजङ्ग गुरुङले अधिवेशनबाट आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरिने जानकारी दिए । अधिवेशनले लोकदोहोरी व्यवसायका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीति अघि बढाउने समितिले जनाएको छ ।