पोखरा । मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा पर्यटक प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू हुने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटक तथा सम्बन्धित सरोकारवालाका लागि अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
सूचनाअनुसार ती संरक्षण क्षेत्रमा प्रवेश अनुमति पत्र (परमिट) असोज ११ गते आइतबार दिउँसो १२ बजेदेखि जारी गरिनेछ । तर, संरक्षण क्षेत्रमा पर्यटकलाई प्रवेश भने असोज १२ गते सोमबार बिहानदेखि मात्र दिइनेछ । त्यसअघि ट्रेकिङ रुटको अवस्था तथा मौसमको मूल्यांकन गरिने एक्यापले जनाएको छ ।
मनसुनका कारण ट्रेकिङ मार्गको अवस्था परिवर्तन हुन सक्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रवेश अनुमति जारी गर्ने व्यवस्था गरिएको हो । मौसम तथा ट्रेकिङ मार्गको अवस्था मूल्यांकनपछि मात्र संरक्षण क्षेत्रमा प्रवेश दिइने सूचनामा उल्लेख छ ।
एक्यापका अनुसार जोमसोम, मुक्तिनाथ, घान्द्रुकलगायत छोटो दूरीका गन्तव्यबाहेक अन्य ट्रेकिङ क्षेत्रमा जाने पर्यटकले अनिवार्य रूपमा इजाजतप्राप्त ट्रेकिङ गाइड साथमा लैजानुपर्नेछ । मौसम प्रतिकूल हुन सक्ने अवस्थालाई ध्यानमा राखी पर्यटकलाई सुरक्षित यात्राका लागि सम्बन्धित निकायले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
एक्यापले भारी वर्षाको सम्भावनाका कारण ट्रेकिङ तथा पर्यटनसँग सम्बन्धित सबै पक्षलाई मौसम र पदमार्गको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।