तारीफको पात्र बने डिएसपी प्रताप पौडेल, उनकै कमाण्डमा २९ वर्षपछि पक्राउ परे फरार प्रतिवादी

स्याङ्जा । लागुऔषध (चरेस) मुद्दामा २९ वर्षदेखि फरार रहेका नारायणप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।  स्याङ्जा जिल्ला अदालतको अभिलेखका आधारमा खोजीमा रहेको श्रेष्ठलाई वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले भदौ १० गते पाल्पाको तानसेन नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ गरेको हो । अदालतको आदेशअनुसार उनलाई बाँकी कैद भुक्तानका लागि स्याङ्जा कारागार पठाइएको छ ।

साविक स्याङ्जा चण्डीभञ्ज्याङ गाविस–७ घर भई हाल पाल्पा तानसेन नगरपालिका–६ बस्ने श्रेष्ठको घरकोठामा २०५४ कात्तिक १९ गते पाल्पा प्रहरीले खानतलासी गर्दा एक किलो २५० ग्राम चरेस बरामद गरेको थियो । सो घटनामा प्रहरी प्रतिवेदन जाहेरीका आधारमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो ।

अनुसन्धानपछि पाल्पा जिल्ला अदालतले २०५६ असार ३० गते श्रेष्ठलाई सफाइ दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि पुनरावेदन अदालत बुटवलले २०५७ असार १ गते श्रेष्ठलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । प्रहरी हिरासतमा बिताएको समय कटाउँदा उनले चार महिना २२ दिन कैद भुक्तान गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतको अभिलेखमा उल्लेख छ ।

अदालतको बाँकी कैद सजाय कार्यान्वयनका लागि प्रहरीले श्रेष्ठको खोजीलाई निरन्तरता दिएको जनाएको छ । पक्राउपछि उनलाई भदौ १२ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशपछि बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।