पर्वत । पर्वतमा पहिलोपटक प्रथम पुरस्कार एक लाख रुपैयाँ रहेको पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। दुर्लुङकोट म्याराथन समाजको आयोजनामा आगामी असोज ३१ गते ‘प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन–२०८३’ हुन लागेको हो। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचारप्रसार गर्ने र युवालाई खेलकुद तथा स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
हिन्दुहरूको महान् चाड बडादसैँको अवसर पारेर ‘दौडौँ स्वास्थ्यका लागि, जोडौँ समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔँ’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन हुनेछ। म्याराथनको रुट पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरबाट सुरु भई कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिने तय गरिएको छ।
प्रतियोगितामा प्रथम हुने धावकले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६० हजार, तेस्रोले ४० हजार, चौथोले २० हजार र पाँचौँ स्थान हासिल गर्ने धावकले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दौड सफलतापूर्वक पूरा गर्ने अन्य सबै धावकलाई समेत सम्मानपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन १७ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। इच्छुक धावकले असोज २३ गतेसम्म अनलाइन फारम भरेर नाम दर्ता गराउन सक्नेछन्। प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकहरुलाई सहभागी हुन आयोजक दुर्लुङकोट म्याराथन समाजले प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको छ।म्याराथन प्रतियोगतामा सहभागी हुन चाहने खेलाडी १७ वर्ष पूरा भएको हुनुपर्ने र असोज २३ गतेसम्म आयोजकलाई सम्पर्क गरी गुगल फारम (https://forms.gle/uadAxTHmsV8q2CQXA) भरेर आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। आयोजकले देशभरका व्यावसायिक खेलाडी तथा धावकलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
दुर्लुङकोट म्याराथन समाजका अनुसार प्रतियोगिताले दुर्लुङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, पर्वतको आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय क्षेत्रमा खेलकुदको विकास र युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्न प्रतियोगिता उपयोगी हुने आयोजकको विश्वास छ।