पोखरा । गण्डकी प्रदेश समाज दक्षिण कोरियाको र दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालको सहकार्यमा जेन्जि आन्दोलनका घाइते तथा सहिद परिवारलाई करिब दुई लाख १५ हजार रुपैयाँ आर्थिक राहत वितरण गरिएको छ ।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नर कुमार गुरुङ र महासचिव पुष्प भण्डारी नेतृत्वको कार्यसमिती र कोरिया स्थित नेपालीहरूले रकम संकलन गरी नेपाल पठाएका हुन् । नेपाल पठाइएको रकम दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालले समन्वय गरि काठमाडौं र पोखरामा जेन्जि आन्दोलनका घाइते तथा सहिद परिवारका १२ जनालाई सहयोग गरिएको हो ।
कोरियामा रकम संकलन पठाइएको रकम कास्की, पर्वत, गोरखा, तनहुँ, सिन्धुली, भक्तपुर, बाजुरा र भोजपुर जिल्लाका घाइते तथा सहिद परिवारलाई वितरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालका अध्यक्ष ईश्वर बहादुर केसीले विदेशमा रहेर पनि स्वदेशप्रति माया र स्नेह राख्दै सहयोग पुर्याउने गण्डकी प्रदेश दक्षिण कोरियामा रहेका नेपालीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरे ।
त्यस्तै अग्निपोस्टसँग कुरा गर्दै गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नर कुमार गुरुङले जेन्जि आन्दोलनका घाइते तथा सहिद परिवारप्रति ऐक्यबद्धता जनाएको बताए । उनले भने, “जेन्जि आन्दोलनमा घाइते र सहिद भएका परिवारप्रति हाम्रो नैतिक जिम्मेवारी हो । विदेशमा रहे पनि देश र परिवर्तनको आन्दोलनलाई बिर्सेका छैनौं, यो सहयोग सम्मान र एकताको सानो प्रयास हो।”

कोरियामा रहेका मनकारी नेपालीहरूले स्वतःस्फूर्त रूपमा संकलन गरी पठाएको नगद रकम कोरियाबाट आएका प्रतिनिधि कपिल अधिकारी, दक्षिण कोरिया रिर्टर्निज एसोसिएसन नेपालका अध्यक्ष ईश्वर बहादुर केसी, कार्यसमिति सदस्यहरू, सल्लाहकार सूर्यप्रसाद अधिकारी, नेत्र नारायण पौडेल तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा वितरण गरिएको थियो ।
आयोजक संस्थाले आगामी दिनमा पनि पीडित परिवारप्रति सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएको छ ।