कास्की–२ का स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जनको रोडम्याप: ‘पाँच वर्षमा पाँच कामको प्रतिबद्धता’

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका वैज्ञानिक डा. निरञ्जन कोइरालाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा पाँच महत्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा वैज्ञानिक डा. कोइरालाले परनिर्भरताबाट आत्मनिर्भरता तर्फ देशलाई लैजान वैज्ञानिक सोच र प्रमाणमा आधारित नीति आवश्यक रहेको उल्लेख गरेका छन् ।

डा. कोइरालाले आम मतदातालाई सम्बोधन गर्दै विकास, आर्थिक समृद्धि र समस्याको दीर्घकालीन समाधानका लागि परम्परागत राजनीतिक भाषणभन्दा विज्ञ–वैज्ञानिक प्रतिनिधिको आवश्यकता रहेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गरी ज्ञान, दक्षता र समाधान दिने क्षमता भएको उम्मेदवार छान्न मतदातालाई आग्रह गरे ।

घोषणापत्रमा उनले जेंजी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै सहिदहरूको चाहनाअनुसार राजनीतिक सोच र ‘स्कुलिङ’ नै नयाँ हुनुपर्ने धारणा राखेका छन् । केवल नयाँ अनुहार होइन, वैज्ञानिक दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

चुनाव चिन्ह ‘मसी’ रहेको डा. कोइरालाले सार्वजनिक गरेको पाँच वर्षे रोडम्याप अन्तर्गतका पाँच प्रमुख प्रतिबद्धता यस प्रकार छन् :

१. मातृभूमिको जमिन र जलमा रहेका प्राकृतिक स्रोतहरूको वैज्ञानिक पहिचान

२. कृषिमा औजारिकरण, स्वदेशी जैविक मल उत्पादन, विषादीमुक्त तरकारी तथा फलफूल उत्पादन र किसानलाई बजार सुनिश्चितता

३. जडीबुटी, जैविक ऊर्जा, जैविक पर्यटन र जैविक अर्थतन्त्रमा आधारित उद्योग–कलकारखाना स्थापना तथा रोजगारी सिर्जना

४. विद्यालय तहदेखि नै कोडिङ, अन्तरिक्ष विज्ञान, कृत्रिम बुद्धिमत्ता तथा नयाँ प्रविधिमा आधारित प्राविधिक शिक्षा

५. वैज्ञानिक ढंगले संविधान संशोधन तथा आवश्यक कानुन, नीति र नियम निर्माण

उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै प्रतिनिधिसभामा विज्ञ तथा वैज्ञानिकहरूको सहभागिता समयको आवश्यकता भएको बताएका छन् ।