पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका वडा नम्बर–५ ले शहीद दिवसको अवसरमा कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा आफ्ना उम्मेदवारलाई बहुमतका साथ विजयी गराउने संकल्पसहित निर्वाचन विशेष भेला सम्पन्न गरेको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबार आयोजित भेलाले प्रत्यक्षतर्फका उम्मेदवार दामोदर पौडेल वैरागी तथा समानुपातिकतर्फ दीपक पौडेल, क्रान्ति बुर्लाकोटी र दलबहादुर गुरुङलाई विजयी गराउने उद्घोष गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले मुलुक आन्तरिक अराजकता र विदेशी हस्तक्षेपको चपेटामा परेको आरोप लगाए। उनले देश र संविधान जोगाउनका लागि यो निर्वाचन निर्णायक हुने बताउँदै एमाले नेतृत्वको सरकारले विगतमा कोभिड महामारी, भूकम्प र नाकाबन्दी जस्ता संकटको सफलतापूर्वक सामना गरेको स्मरण गराए ।
अध्यक्ष बरालले राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास र स्रोत साधनको सदुपयोगमार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेले निर्वाचन जित्नैपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार दामोदर पौडेल वैरागीले कास्की–३ का नागरिकको जीवनस्तर सुधार आफ्नो मुख्य प्रतिबद्धता भएको बताए । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र युवाको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समानुपातिक उम्मेदवार दीपक बहादुर पौडेलले एमालेको नीति तथा कार्यक्रम जनमुखी भएकाले जनताको विश्वास बढ्दै गएको दाबी गरे। उनले समृद्ध नेपाल निर्माणका लागि स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
त्यसैगरी एमाले प्रदेश कमिटी सचिवालय सदस्य दिलिप विक्रम शाहीले देशमा सकारात्मक परिवर्तनको सुरुवात हुने बेला नेतृत्वमाथि प्रहार हुने गरेको आरोप लगाउँदै इतिहासमा राजा महेन्द्रदेखि मदन भण्डारीसम्म त्यसको उदाहरण रहेको बताए ।
भेलामा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, जिल्ला उपसचिव तथा कास्की–३ समन्वय समिति संयोजक लाल बहादुर परियार, जिल्ला सदस्य उज्ज्वल खत्रीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सचिव बसन्त गौतमले गरेका थिए भने उपाध्यक्ष पान प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।