विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लामाचौर बस्ने २ जना पक्राउ

पोखरा । सामाजिक सञ्जाल फेसबुकमार्फत विदेशमा रोजगारी लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

आफू कानून व्यवसायी रहेको, श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको र हाल विदेशस्थित आफ्नै होटल तथा विभिन्न कम्पनीहरूमा किचन हेल्पर, कुक, फुड प्याकिङ, चालक, म्यानेजरलगायत पदमा नेपाली कामदार आवश्यक रहेको भन्दै विश्वास दिलाई उनीहरूले ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उक्त कार्यमार्फत विभिन्न ११ जना व्यक्तिबाट रु. १० हजारदेखि रु. २ लाखसम्म रकम उठाई कूल रु. १४ लाख ६० हजार ठगी गरिएको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र जिल्ला मुगु खप्तड गाउँपालिका–११ स्थायी वतन भई हाल पोखरा महानगरपालिका–६ बस्ने वर्ष २८ का बिरेन्द्र रावत रहेका छन् ।

उनीहरूलाई माघ ८ गते पक्राउ गरी कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।