मेयर आचार्यको आग्रह: फोहर खुला स्थानमा नफाल्नुस्, आधारहीन समाचार नफैलाउनुस्

पोखरा । पोखरा महानगरपालिकाले फोहर व्यवस्थापनका दीर्घकालीन तथा अल्पकालीन दुवै योजनामा निरन्तर रूपमा काम गरिरहेको जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै हालसम्म मुख्य शहर क्षेत्रभित्र सङ्कलित फोहर उठाएर व्यवस्थापन गरिएको र नियमित फोहर सङ्कलनका लागि गाडी आउने समयसम्बन्धी सूचना छिट्टै सार्वजनिक गरिने बताएका छन् । उनले नागरिकलाई सडक पेटी वा खुला स्थानमा फोहर नफाल्न आग्रह गर्दै फोहर सङ्कलन गाडीको प्रतीक्षा गर्न सबैमा अनुरोध गरेका छन् ।

साथै, पोखरा महानगरपालिकाले सेती नदीमा फोहर बगाएको भन्ने जस्ता आधारहीन, अनर्गल तथा दूषित समाचार सम्प्रेषण गरी भ्रम सिर्जना नगर्न पनि मेयर आचार्यले आग्रह गरेका छन् । यस्ता गलत सूचनाले आमनागरिकमा अनावश्यक त्रास र भ्रम फैलिने उनको भनाइ छ ।

महानगरपालिकाले स्वच्छ र सफा पोखरा निर्माणका लागि नागरिकको सहकार्य अपरिहार्य रहेको जनाउँदै जिम्मेवार व्यवहार अपनाउन सबैलाई अपिल गरेको छ ।